आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । अर्थमन्त्री विष्णु पौडेलसँगको लामो छलफलपछि गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति ल्याउने तयारी गरेका हुन । एक साता अघि नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएपनि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर युवराज खतिवडाले केही छलफल गर्नुपर्ने भन्दै रोकेका थिए । मौद्रिक नीति आज विहान बसेको राष्ट्र बैंक सञ्चालक समितिले पारित गरिसकेको छ । अहिले सवा बा¥ह बजे पत्रकार सम्मेलन गरेर नीति सार्वजनिक गरिने केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले आगामी नीतिका विषयमा बैंकर्स संघसहित सबै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिमूलक संस्थासँग पनि छलफल गरिसकेका छन् । निजी क्षेत्रले मौद्रिक नीति लचिलो बनाउन सुझाव दिएका छन् । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति ल्याउने तयारी गरेको छरु। कर्जा माग नहुँदा बैंक तथा वित्तीय संस्थामा करिब ८ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको, ब्याजदर निकै तल झरिसकेको, रेमिट्यान्स बढिरहेको, विदेशी मुद्रा सञ्चिति, शोधनान्तर लगायत सूचक बलियो रहेको मौकाको सदुपयोग गर्दै राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमा कर्जा विस्तारलाई प्रोत्साहन हुने खालका व्यवस्था गर्न लागेको हो । ब्याजदर वाञ्छित सीमामा राख्दै वित्तीय स्थायित्व नखलबलिने र बजेटमार्फत सरकारले तय गरेको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा सहयोगी हुने गरी राष्ट्र बैंक यस वर्षको मौद्रिक नीति तर्जुमाको अन्तिम तयारीमा जुटेको हो ।

प्रतिक्रिया