सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु ।

सौर्य एयरलाइन्सको विमान आज त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको छ । चालक दलका दुई र विमानसेवा कम्पनीका १७ प्राविधिक कर्मचारी सवार विमानमा रहेका चालक बाहेक सबैको ज्यान गएको हो । एकै परिवारका तीन जना र एक विदेशी नागरिकको पनि दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ । त्रिभुवन विमानस्थल काठमाडौवाट विहान ११ बजेर ११ मिनेटमा पोखरा उडानको क्रममा उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा विमान दुर्घटना भएको प्राधिकरणको भनाइ छ । विमान दुर्घटना भए लगत्तै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा घाइते पाइलटलाई उद्धार गरी अस्पताल पु¥याइएको प्राधिकरणले जनाएको छ ।

दुर्घटना लगत्तै नेपाली सेना, सशस्त्र र नेपाली प्रहरीको टोली तथा विमानस्थलका अग्नी नियन्त्रण उद्धारमा खटिएका थिए । विमानले उडान गरेको एक मिनेटभन्दा कम समयमै दुर्घटना भएको विमानस्थल प्रहरीले जनाएको छ । प्राधिकरणका अनुसार विमान ‘एनुअल मेन्टेनन्स प्रोग्राम’ नामक परीक्षण उडानका क्रममा रहेको थियो । विमान गलत दिशाबाट मोडिएका कारण दुर्घटना भएको त्रिभुवन विमानस्थल कार्यालयको प्रारम्भिक आंकलन छ । तर दुर्घटनाको कारण विस्तृत अध्ययन र अनुसन्धानपछि मात्रै खुल्ने कार्यालयले जनाएको छ । विमानमा सर्वसाधारण यात्रु नरहेको विमान कम्पनीले जनाएको छ । यसअघि सन् २०१८ को मार्चमा बंगलादेशबाट नेपाल आएको यूएस–बाङ्ग्ला एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको मृत्यु भएको थियो ।।
 

प्रतिक्रिया