काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्दै ।


काठमाडौं उपत्यकामा हैजाको जोखिम देखिएको छ । ललितपुरका १६ वर्षिय एक किशोरलाई हैजाको संक्रमण पुष्टि भएसँगै उपत्यकामा हैजाको जोखिम बढेको हो । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका अनुसार हैजा संक्रमण पुष्टि भएका किशोरको उपचार भइरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा ललितपुरको गोदावरी नगरपालिका–१४ ठैवको एक पुर्नस्थापना केन्द्रमा बस्ने ती किशोरमा हैजा पुष्टि भएको हो । त्यस्तै ठैवकै अर्का एक जना झाडापखालाका बिरामीको रिर्पोट आउन बाँकी छ ।

पछिल्लो समय झाडापखालाका दैनिक १० जना बिरामी टेकुमा उपचारका लागि पुग्ने गरेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा फैलन नदिन अहिले हैजा भेटिएको पुर्नस्थापना केन्द्रलाई सिल गरेर अनुसन्धान गर्ने भएको छ । हैजा भएका मानिसको दिसाबाट कीटाणु फैलने गर्छ । ती कीटाणु पानी र खानाको माध्यमबाट अन्य मानिसमा प्रवेश गरेसँगै हैजा फैलने गर्छ । पानी, बासी खानेकुरा, नपकाएको खानेकुराबाट पनि हैजा सर्ने जोखिम हुन्छ । पातलो चौलानी जस्तो दिसा लाग्नु, बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन् । हैजा लाग्न नदिन पानी उमालेर वा शुद्धिकरण गरेर पिउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, बासी सडेगलेका खानेकुरा नखान, फलफूल र तरकारी राम्ररी सफा गरेर खान स्वास्थ्यकर्मीको सुझाव छ ।। 

प्रतिक्रिया