लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य सहित आठ जना मन्त्रीले लिए सपथ ।


लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्य र एमाले–कांग्रेसका ८ बिना विभागीय मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्रीको सपथसँगै नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले मंगलबार नै राजीनामा दिने तयारी गरेपनि मुख्यमन्त्रीले सपथ लिएपछि घोषणा गर्ने भनी रोकिएका थिए । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ गराएका हुन । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिएका हुन् । तर कांग्रेसमा विवाद भएपछि अन्तिममा जन्मजय तिमल्सिनाको नाम काटिएको छ । 

एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका हुन ।  ढकाल र पन्थी मन्त्रीमा दोहोरिएका हुन । पाल्पाका सारु र दाङकी शर्मा मन्त्रीमा नयाँ अनुहार हुन ।  यसैगरी नेपाली कांग्रेसबाट ४ मन्त्रीले शपथ लिएका छन ।  गुल्मीका धनेन्द्र कार्की, प्युठानका सरोज थापा, दाङका प्रचण्ड विक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बनेका हुन । थापा मात्रै यसअघि मन्त्री बनेका हुन् भने अरू सबै नयाँ हुन । कांग्रेसले प्रमुख सचेतक रहेका तिमिल्सिनाको नाम विवाद भएपछि अन्तिममा काटिएको छ । आज बिना विभागीय रुपमा शपथ लिएका सबै मन्त्रीलाई बिहीबारसम्म मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ । लुम्बिनीमा एमाले कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए । प्रदेशमा लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपाल, राप्रपाले सरकारलाई समर्थन गर्ने मौखिक सहमति जनाएपनि अहिलेसम्म सहभागी छैनन् । उनीहरूका लागि २ मन्त्रालय खाली राखिएको छ । ८७ सदस्यीय प्रदेश सभामा अब माओवादीका १०, नेकपा एस, जनमोर्चा र स्वतन्त्रका एक एक गरी १३ सांसद मात्रै विपक्षमा छन ।

प्रतिक्रिया