प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनसकिदैन: राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी ओलीलाई अहिले विश्वासको मत दिन आवश्यक नरहेको बताएका छन् । विश्वासको मत दिनका लागि दलहरू सच्चिन जरुरी रहेपनि अहिले त्यसको कुनै सम्भावना नरहेको लिङ्देनको भनाइ छ । 
आइतबार प्रतिनिधि सभामा विश्वासको मतमाथिको छलफलका क्रममा बोल्दै लिङ्देनले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने आवश्यकता छैन । यो विगतको निरन्तरता मात्रै हो ।’ उनले विकृतको अन्त्य हुने कुनै सम्भावना नरहेको भन्दै विगतमा राजाको मुख्यसचिवलाई कसले अख्तियारको प्रमुख बनायो भन्दै प्रश्न समेत गरे । ‘राजाको विरोध गर्ने, अहिले पनि समस्या पर्‍यो भने राजाको विरोध गर्ने तर राजाको मुख्यसचिव ल्याएर अख्तियार प्रमुख कसले बनाएको ? फाइल खोल्न थालेपनि महाभियोग फेरि तपाईँहरूले नै लगाएको होइन ?' तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नाम नलिई उनले भने । 

उनले दलका नेताहरूलाई जनताले नपत्याउने अवस्था रहेको भन्दै विगतमा आफूले कांग्रेसको महाधिवेशनमा भनेको ‘चोर नेता’को अभिव्यक्ति स्मरण गरे । अहिले पनि जनताको सोचाइ त्यो बेलाको भन्दा फरक नरहेको उनले बताए ।

प्रतिक्रिया