प्रधानमन्त्री केपी ओलीले आज विश्वासको मत लिदै
प्रधानमन्त्री केपी ओलीले आज विश्वासको मत लिने भएका छन् । यसका लागि संसद बैठक दिउँसो १ बजे बोलाइएको छ । प्रधानमन्त्री ओलीले असार ३१ गते पद तथा गोपनियताको सपथ गरेका थिए । संविधान अनुसार प्रधानमन्त्रीको पदभार ग्रहण गरेको ३० दिन भित्र विश्वासको मत लिन सकिने भएपनि ओलीले एक साता भित्रै विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेसको सहयोगमा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेसको ८८, नेकपा एमालेको ७८, अशोक राई नेतृत्वको जसपाको ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र २ गरी १९४ मत पक्षमा आउने देखिन्छ । नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादी, राप्रपाले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । संसदमा प्रतिनिधित्व गर्ने साना दल नेमकिपा १, राष्ट्रिय जनमोर्चा १, स्वतन्त्र २ सांसदले मत कता दिने विषयमा निर्णय गरिसकेका छैनन् । संसदमा हाल कायम संसद् संख्यामध्ये विश्वासको मत प्राप्त गर्न १ सय ३८ मत आवश्यक पर्छ । कांग्रेस र एमालेविच गत असार १७ गते मध्यरात भएको ७ बुँदे सहमति पनि प्रधानमन्त्री ओलीले आज संसदमा सम्वोधनका क्रममा सार्वजनिक गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि संसदमा देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । विश्वासको मत अघि आजै नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको संसदीय दलको बैठक बस्दैछ ।
प्रतिक्रिया