उपसभामुख रानाको पत्रलाई पदीय लेनदेनको हिसाब मिलाउन अनर्गल प्रचार गरयो: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक गरेर पदीय लेनदेनको हिसाब मिलाउन अनर्गल प्रचार गरिएको दाबी गरेको छ । आज एक विज्ञप्तिमार्फत् रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपाको छवि धूमिल पार्ने दूषित मनसायबाट यस विषयलाई अतिरञ्जित बनाइएको दाबी गरेका हुन । संघीय संसद् सचिवालयलगायत अन्य उच्च पदासीन व्यक्तिलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको विज्ञप्तीमा उल्लेख छ । रास्वपाको छवि धूमिल पार्ने दूषित मनसायबाट छद्म रूपमा गलत प्रहार भएको पनि रास्वपाको दाबी छ । उपसभामुखले आफूसहित ६ जनाको भिसा अन्तर्वार्ताको समय मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको विषयबारे पार्टीमा सूचना आएपछि तुरुन्तै सोधखोज गरिएको विज्ञप्तिमा जनाइएको छ । पत्रमा उल्लेखित व्यक्तिहरू अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिएका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको पनि विज्ञप्तीमा उल्लेख छ । रास्वपाले अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका पक्षमा सघाउनेपनि जनाएको छ ।
 

प्रतिक्रिया