बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै
नयाँ सरकार बनाउन बाग्मतीमा कांग्रेस र लुम्बिनीमा एमालेले दाबी
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज राजीनामा दिने भएको छ । बागमती प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेश सभाको बैठक बस्दै छ । तर विश्वासको मत प्राप्त नहुने निश्चित भएसँगै उनले आजै राजीनामा दिने तयारी गरेका हुन । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा पर्नुभएका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन भन्दै यसअघि प्रदेश सभा सचिवालय बैठकमा समय व्यवस्थापनका लागि पत्र दर्ता गराएकाले प्रदेश सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । अल्पमतमा परेसँगै मुख्यमन्त्री जमरकट्टेल अविश्वासको प्रस्ताव वा राजीनामा भन्ने बारेमा अलमलमा पर्दै आएका छन ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभा बैठकमा आफ्नो भनाइ राख्ने र पदबाट राजीनामा दिने गरी सत्ता गठबन्धनमा रहेका दलहरूबिच पछिल्लो पटक छलफल भएको थियो । सोही अनुसार मुख्यमन्त्रीले प्रदेश सभाबाटै पदबाट राजीनामा दिने बताइएको छ । विश्वासको मतका मतदानमा जाँदा पनि जमरकट्टेल नेतृत्वको सरकार वाहिरीने निश्चित रहेको छ । मुख्यमन्त्रीको पक्षमा हाल नेकपा माओवादी केन्द्रका २१, सात जना प्रदेश सभा सदस्य रहेको नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी रहेको छ । १ सय १० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा काँग्रेसको ३७ र एमालेको २७ गरी ६४ जना प्रदेश सभा सदस्य रहेका छन् । सरकार निर्माणका लागि ५६ जना प्रदेश सभा सदस्य आवश्यक हुने यस प्रदेशमा काँग्रेस र एमाले मिल्दा सहजै बहुमत पुग्ने छ । केन्द्रमा नयाँ समीकरण बनेसँगै प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दै आएको छ ।
लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा उनले विश्वासको मत लिन लागेका हुन । सरकारमा रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको छ । लुम्बिनीमा एमाले र कांग्रेसले नयाँ सरकार बनाउन कसरत गरिरहेका छन् । लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् । त्यस्तै माओवादी केन्द्रका १० सांसद छन् । त्यस्तै साना दल राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन–तीनजना, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपां) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा दुई–दुईजना तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एकजना सदस्य छन् भने एकजना स्वतन्त्र सदस्य छन् । सतासी सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।
प्रतिक्रिया