बाँकेमा संघ सरकारले विनियोजन गरेको बजेट कार्यान्वयन उत्साहजनक
बाँकेमा आर्थिक वर्ष २०८०/०८१ मा संघ सरकारले विनियोजन गरेको बजेट कार्यान्वयन निकै उत्साहजनक देखिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांकले बाँके जिल्लाका विभिन्न सरकारी कार्यालयले खर्च गरेको बजेटको अनुपात उत्साहजनक देखिएको हो । संघ सरकारले बाँकेलाई आर्थिक वर्ष २०८०/८१ मा १८ अर्ब २४ करोड ७० लाख ९२ हजार ४२६ रुपैयाँ बजेट बिनियोजन गरेकोमा १६ अर्ब ६७ करोड ३३ लाख ३ हजार ५९० रुपैयाँ अर्थात ९१ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । चालूतर्फ ९३ दशमलव ७७ प्रतिशत र पुँजीगततर्फ ८६ दशमलव ६४ प्रतिशत बजेट कार्यान्वयन गरेको हो ।
गत दुई आर्थिक वर्ष २०७९/८० मा ८७ दशमलव ४९ र आर्थिक वर्ष २०७८/७९ मा ८५ प्रतिशत बजेट खर्च गरेको तथ्यांकले देखाएको छ । बाँकेका ८ स्थानीय तहले सगग्रमा ८८ दशमलव ४१ प्रतिशत बजेट कार्यान्वयन गरेको देखिएको छ । सबैभन्दा कम डुडुवाले ८४ दशमलव ३९ र सबैभन्दा बढी बैजनाथ गाउँपलिकाले ९० दशमलव ७१ प्रतिशत बजेट खर्च गर्दा अन्य पालिकाहरुमा नेपालगन्ज उपमहानगरपालिका ८७दशमलव ७६, कोहलपुर नगरपालिका ८९ दशमलव ४१, खजुरा ८९ दशमलव ५३, जानकी, डढ दशमलव ६८, नरैनापुर ८६ दशमलव २८ र राप्तीसोनारी गाउँपालिकाले ८८ दशमलव ४४ प्रतिशत बजेट खर्च गरेको छ संघको तुलनामा लुम्बिनी प्रदेशले बाँकेका लागि बिनियोजन गरेको बजेट कार्यान्वयनको अबस्था भने निकै खस्किएको देखिन्छ । ३ अर्ब ६० करोड ९२ लाख ५६ हजार बजेट रहेकोमा २ अर्ब ४८ करोड ८८ लाख १२ हजार ५९० रुपैयाँ अर्थात ६८ दशमलव ९६ प्रतिशत मात्र बजेट खर्च भएको देखिन्छ । । यता राजस्वतर्फ आर्थिक वर्ष २०७८/७९ मा २८ अर्ब बढी र २०७९÷८० मा २४ अर्ब बढी राजस्व उठेकोमा गत आर्थिक वर्ष २०८०/८१ मा २५ बढी राजस्व उठेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रतिक्रिया