बंगलादेशमा आरक्षणविरुद्धको प्रदर्शन चर्कदै गएपछि कफ्र्यु आदेश जारी

जारी हिंसामा अहिलेसम्म कम्तीमा १२३ जनाको मृत्यु

बंगलादेशका विभिन्न शहरमा विद्यार्थीको प्रदर्शन चर्किदै गएपछि सरकारले कफ्र्यु जारी गरेको छ । राजधानी ढाकामा थप ३५ जनाको मृत्यु भएपछि थप हिंसा बढ्न सक्ने भन्दै सरकारले मध्यरातीदेखि देशव्यापी कर्फ्यू लगाएको हो । कफ्र्युसँगै सरकारले सेना परिचालन गरेको छ ।सन् १९७१ मा देशको स्वतन्त्रता संग्रामका बेला योगदान दिएका परिवारका लागि सरकारी जागिरमा छुट्याएको आरक्षणको विरोधमा विद्यार्थीहरुले गरेको प्रदर्शन देश भर फैलिएको छ । जारी हिंसा र अशान्तिलाई नियन्त्रण गर्न सेनाले गस्ती शुरू गरेको छ । हिंसाका कारण अहिलेसम्म कम्तीमा १२३ जनाको मृत्यु भएको सरकारी अस्पतालले जनाएको छ । प्रधानमन्त्री शेख हसिनाको १५ वर्षको शासनकालमा विद्यार्थीको पछिल्लो प्रदर्शनलाई अहिलेसम्मको सबैभन्दा ठूलो संकट मानिएको छ । राजधानी ढाकाका सडकहरू शनिबार दिउँसो सुनसान भएका थिए । राजधानी ढाकालाई बख्तरबन्दसहितका सुरक्षा कर्मचारीले गस्ती गरिरहेका छन् । विद्यार्थीको प्रदर्शनमा अन्य समूह र वर्गले पनि साथ दिन थालेपछि प्रधानमन्त्री हसिनाको राजीनामालाई आन्दोलनकारीले मुख्य मुद्दा बनाएका छन । बङ्गलादेशमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबिचको झडपपछि प्रधानमन्त्री शेख हसिनाले विदेश भ्रमण रद्द गरेकी छिन ।  आन्दोलनले चर्को रूप लिँदै गएपछि मुलुकका विभिन्न सहरमा सैनिकहरू तैनाथ गरिएको छ ।

प्रतिक्रिया