संसद भवन निर्माण छिटो सम्पन्न गर्न सभामुखको आग्रह

थपिएको समयभित्रै सम्पन्न गर्न पहल गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिवद्धता

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद भवन निर्माण कार्यमा ढिलासुस्ती भएकोमा असन्तुष्टि जनाएका छन् । शुक्रवार सिंहदरबारमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित निकायसँगको छलफलमा सभामुख घिमिरेले भवन निर्माणमा भएको प्रगतिप्रति असन्तुष्टि जनाएका हुन् । उनले दुई सिफ्टमा काम गरेर भए पनि भवन निर्माण कार्य छिटो र गुणस्तरीय ढंगले सम्पन्न गर्न मातहतका निकायलाई सचेत समेत गराए । सभामुख घिमिरेले भवनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्ने कुरामा पनि कुनै कन्जुस्याई नगर्न आग्रह गरे । 
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले २१औं शताब्दीको सन्देश दिने गरी भवन निर्माण गर्नुपर्ने भएकाले गम्भिरतापूर्वक ध्यान दिन सरकारलाई आग्रह गरे । उनले संसद भवनमा भोटिङको पनि उचित प्रवन्ध गर्नुपर्ने आवश्यकता औंल्याए ।  
सो अवसरमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवन थपिएको समयसीमा भित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाए । उनले राष्ट्रिय प्राथमिकतामा रहेको सो भवन निर्माणका कार्यमा ढिलाई नगरी काम गर्न पनि मातहतका निकायलाई निर्देशन समेत दिए ।
भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख मचाकाजी महर्जनले भवनको निर्माण कार्य सम्पन्न गर्नका लागि आफूहरुले ठेकदार कम्पनीलाई ताकेता गरिरहेको जानकारी दिए । 
२०७६ साल असोज १६ गते करिव ६ अर्व ३० करोड लागतमा ३ वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित शुरु गरिएको सो भवनको निर्माण कार्य तोकिएको समयमा सम्पन्न नभएपछि आगामी चैत्र १८ गते सम्पन्न गरिसक्ने गरी पुनः समय थप गरिएको छ ।

प्रतिक्रिया