न्युरोड फुटपाथ विस्तारको विरोधमा उत्रिए २२ का वडा अध्यक्षसहित जनप्रतिनिधि
काठमाडौंको न्यूरोडस्थित फुटपाथ विस्तारमा वडा नम्बर २२ का स्थानीयले विरोध गरेका छन्। न्यूरोड धर्मपथ क्षेत्रमा गर्न लागिएको फुटपाथ विस्तार २२ नम्बर वडा अध्यक्षसहित जनप्रतिनिधि र स्थानीयबासीलाई आवश्यक नभएको भन्दै शुक्रबार विहान विरोध गरेका हुन्। उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएपछि काठमाडौं महानगरले बुधबारदेखि पुनः काम सुरु गरेको थियो ।
तर स्थानीयहरुले नयाँ सडक बचाऔँ, न्युरोड साँघुरो गर्न पाइँदैन भन्दै विरोध जनाएका हुन् । वडाअध्यक्ष चिनकाजी महर्जनसँग सहमति गरेर मात्रै काम अगाडी बढाउनुपर्ने स्थानीयको माग र अडान छ।
स्थानीयहरुको विरोधपछि ठूलो संख्यामा नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो । काठमाडौं महानगर वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले स्थानीयको साथ लिएर मात्रै विकास निर्माण काम गर्नुपर्ने भन्दै दमन स्वीकार्य नहुने बताए ।उनले वडा नम्बर २४ मा गरिएको फुटपाथ विस्तारको कामलाई दसैँसम्म परीक्षणको रुपमा हेर्नुपर्ने र त्यसपछि सकारात्मक देखिएमात्रै २२ नम्बर वडामा विस्तार गर्न सुझाव दिए । यसअघि काठमाडौँ महानगरले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे काटेको थियो । त्यसपछि सडक डिभिजन कार्यालयले हस्तक्षेप गरी महानगरले काटेको कालोपत्रे टालेको थियो । सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरले उच्च अदालत पाटनमा रिट दिएको थियो । त्यसपछि उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएसँगै महानगरले काम सुरु गरेको हो ।
प्रतिक्रिया