सुदूरपश्चिम प्रदेश सभाको जारी बजेट अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी जारी बजेट अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्यसँगै अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई बजेट अध्यादेश ल्याउन बाटो खुलेको छ । हाल प्रदेश सरकार बजेट शून्यताको अवस्थामा छ ।प्रदेश सभा सचिवालयका अनुसार सरकारको सिफारिसमा प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा २ अनुसार चालु अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशको मन्त्रिपरिषद् बैठकले २९ असारमा प्रदेश सभाको जारी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । प्रदेश सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेपनि प्रदेश प्रमुख मियाँ प्रधानमन्त्री केपी शर्मा ओलीको शपथग्रहण समारोहमा सहभागी हुन काठमाडौं गएपछि सो पत्र अलपत्र परेको थियो । स्वास्थ्य अवस्थालाई देखाएर प्रदेश प्रमुख केही दिन काठमाडौंमा नै रहने भएपछि सोडारीले बिहीबार अधिवेशन अन्त्यको पत्र काठमाडौं नै पठाएका थिए । एमालेले असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । एमाले र कांग्रेस मिलेर कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । नयाँ सहमति अनुसार अघि बढ्न भन्दै दुई दलले राजीनामा माग्दै आएका छन् । यता सोडारी भने तत्काल विश्वासको मत नलिने र प्रदेश सभामा आफ्ना कुरा राखेर राजीनामा दिने तयारी गरेका छन् ।। 
 

प्रतिक्रिया