अविरल वर्षाले राष्ट्रिय सभा गृह डुबानमा

जनताको घर तथा बस्ती डुबानमा पर्दा जोखिम मुक्त बनाउने स्थानीय सरकार काठमाडौं महानगरपालिका आफैँ डुवानमा परेको छ । बुधवार रातिको अविरल वर्षाका कारण राष्ट्रिय सभा गृह डुबानमा परेको हो । राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यालय रहेको छ । बुधवार राति भएको वर्षाका कारण सभागृह डुवानमा परेको छ । सभागृहभित्र सञ्चालित राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने स्थान, मेट्रो एफ.एम, नगर प्रहरी सुरक्षा कक्ष पनि डुवानमा परेको हो । केही दिनअघि परेको वर्षाका कारण काठमाडौंको वागमती, विष्णुमती तथा धोविखोला आसपासका क्षेत्र डुबानमा परेका थिए । हरेक वर्षा याममा घण्टाघर, रन्तपार्क देखिको पानीको भेल प्रदर्शनीको नाला हुँदै टुकुचा खोलामा जाने गर्दथ्यो । तर यो वर्ष सभागृहको गेटदेखि टुकुचासम्मको पैदलमार्ग करोडौ खर्च गरेर फराकिलो बनाउने क्रममा नाला बिस्थापित गरी ह्युम पाईप बिछ्याएका कारण ठूलो भेल सभागृहभित्र प्रवेश गर्ने गरेको हो । त्यस्तै सभागृहको पानी निकासको ढल पुलिस क्लव तर्फबाट टुकुचासम्म लगिएको थियो । अहिले महानगर आफैँले सभागृह पुनःनिर्माणका गर्दैगर्दा पश्चिम तर्फको ढलको मंगलको निर्माण गरेको तर निकास नबनाएका कारण सभागृह डुवानमा परेको हो ।  सभागृह डुवानमा परेपछि मेयर बालेन्द्र साह तथा उपमेयर सुनिता डंगोल सभागृहमा रहेको कार्यालय आएका छैनन् । मेट्रो रेडियो प्रशारण समेत प्रभावित बनेको छ । त्यस्तै राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राही विहानैदेखि डुवानमै लाईन बस्न बाध्य भएका छन । 
 

प्रतिक्रिया