सुनील पौडेलविरुद्ध अर्काे मुद्दा दायर, विदेशी बैंकमा पैसा राखेको खुलासा
राजस्व अनुसन्धान विभागले सुनील पौडेलविरुद्ध अवैध विदेशी विनिमयसम्बन्धी अभियोगमा मुद्दा दायर गरेको छ । विभागले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक एवम् नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेलविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
पौडेलले विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १६ विपरीत विदेशी बैंकमा पैसा राखेको पाइएको छ । उनले सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा ५८ हजार अमेरिकी डलर राखेको विषयमा विभागले अनुसन्धान थालेको थियो ।
पौडेलले विदेशी विनिमय (नियमित गर्ने) ऐनको व्यवस्था विपरीतको कसूर गरेकोले अमेरिकी डलर ५८ हजारको हिसाबले हुन आउने सतहत्तर लाख पैँतालीस हजार नौ सय रुपैयाँ बिगो कायम गरिएको विभागले जनाएको छ ।
अनुसन्धानपछि विभागले पौडेलविरुद्ध उक्त रकमको कानुनानुसार तीन गुणा बढी अर्थात् दुई करोड ३२ लाख ३७ हजार ७०० रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।
यसअघि, नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार गरेको अभियोगमा गत वर्षको असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया