निर्माण व्यवसायीको वक्यौता रकम चाँडै उपलब्ध गराउने अर्थमन्त्री पौडेलको प्रतिबद्धता

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीहरुको वक्यौता रकम चाँडै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन । उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँग आज भएको भेटमा उनले आगामी दिनमा निर्माणको काम सकेको रकम पाइएन भनेर सरकारसँग आउनुपर्ने अवस्था नरहने बताएका हुन । अर्थमन्त्री पौडेलले अहिले अर्थतन्त्रका बाह्य केही सूचकबाहेक सबै कुरा घट्दो क्रममा रहेको र आफूले त्यसलाई सुधार गर्ने लक्ष्यसहित काम गर्ने बताए ।
अर्थमन्त्रीले विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको उपभोग गरिरहेकाहरुको वास्तविक बिल पेस गर्न नसकेको आफूले महसुस गरेको उल्लेख गरे । तर गैरकानुनी रुपमा उद्योगीमाथि दायित्व सिर्जना गरिएको उनको भनाइ थियो । कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानीको मनोबल उकास्न र निजी क्षेत्रको समस्या बुझ्न निजी क्षेत्रसहितको संयन्त्र अथवा आयोग गठन गर्न ध्यानाकर्षण गराए । 
अध्यक्ष ढकालले सरकारले काम गराएर पनि भुक्तान नगर्दा निर्माण व्यवसायीमा निरासा छाएको गुनासो गरे । पहिला थुन्ने र सुन्ने सरकारी रबैयाका कारण उद्योगी–व्यवसायी हतोत्साही भएको उनको भनाइ थियो । लघुवित्त र सहकारीमा समस्या आउँदा गाउँमा समेत आर्थिक कारोबार सुस्त भएको भन्दै मौद्रिक नीतिमा यसलाई सम्बोधन गर्नुपर्ने माग पनि अध्यक्ष ढकालको थियो । 
 

प्रतिक्रिया