न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु
काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएपछि महानगरले आज बिहानदेखि पुनः काम सुरु गरेको हो ।महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि काम सुचारु गर्ने बाटो खुलेको हो । यसअघि काठमाडौँ महानगरले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरी महानगरले काटेको कालोपत्रे टालेको थियो ।सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय नन्द र खरेलले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटफाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको हो । सडकलाई पैदलयात्री मैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालयले भौतिक रुपमा हस्तक्षेप गरेको थियो ।।
प्रतिक्रिया