मोरङमा विद्युत सवस्टेशनको निर्माण तीन बर्षमा पनि पूरा भएन

पछिल्लो पटक थपिएको म्यादमा पनि काम अधुरै

मोरङको कानेपोखरीमा विद्युत सवस्टेशनको निर्माण कार्य तीन बर्षमा पनि पूरा भएको छैन । कानेपोखरी गाउँपालिका २ स्थित केरौन बजार नजिकै २०७८ श्रावणमा  १३२÷३३ केभी क्षमताको सब–स्टेशन निर्माण सुरु गरिएको भएपनि अझै अधुरै रहेको हो । २०८० कार्तिक भित्र निर्माण पूरा गर्नुपर्ने आयोजनाको म्याद आगामी कात्तिक २५ गतेसम्म थप भएपनि कामले गति लिन नसकेको  हो । आगामी बैशाखसम्म काम सम्पन्न हुने अपेक्षा गरिएको छ । 
एक बर्ष अगाडि निर्माणकार्य स्थानमा नेपाल बिधुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक  कुलमान घिसिङ समेतले निर्माणको अनुगमन गरेपनि कामले तिब्रता पाएको छैन । सरकारले ८५ करोडको लागतमा पाँच बिघा जग्गा  खरिद गरेर सबस्टेसन निर्माण गरिरहेको हो । निर्माणको ठेक्का एनर्जीपक इन्जिनियरिङ र एसआर एसोसियटले संयुक्त रुपमा पाएका छन । आयोजनावाट रंगेली, सुनबर्षी, धनपालथान,कानेपोखरी, रतुवामाई, जहदा,  रमाइलो र बिराटचोकका उपभोक्ता लाभान्वित हुनेछन । 
 

प्रतिक्रिया