यस वर्ष विश्व अर्थतन्त्र ३.२ प्रतिशतले वृद्धि हुने आइएमएफको अपेक्षा
अन्तर्राष्ट्रिय मुद्राकोष आइएमएफ ले यस वर्ष विश्व अर्थतन्त्र तीन दशमलव दुई प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको छ । विश्वव्यापी गतिविधि र विश्व व्यापार वर्षको सुरुतिर बलियो भएको छ, एसियाबाट विशेषगरी प्रविधि क्षेत्रमा भएको बलियो निर्यातले व्यापारलाई प्रोत्साहित गरेको कोषले जनाएको छ । कोषले सन् २०२५ का लागि तीन दशमलव तीन प्रतिशतको विश्वव्यापी वृद्धिको अपेक्षा गरेको छ । पछिल्लो तीन महिनामा जापान र अमेरिकामा उल्लेखनीय आश्चर्य भएको कोषले जनाएको छ । अमेरिका विकास दरलाई घटाएर दुई दशमलव छ प्रतिशत बनाइएको छ । जापानको अर्थतन्त्रमा यस वर्ष अपेक्षाभन्दा शून्य दशमलव दुई प्रतिशत अङ्क कम अर्थात शून्य दशमलव सात प्रतिशतले आर्थिक वृद्धि भएको देखिएको छ । यसैबीच युरो क्षेत्रमा अपेक्षाकृत मजबुत सेवा गतिविधिका साथ सुधारको सङ्केत देखिए पनि निर्मार्ण क्षेत्रमा कमजोरी देखिएको छ । चीन र भारतले एसियामा गतिविधि बढ्ने अपेक्षा गरिएको छ । आइएमएफले नयाँ सिराबाट व्यापार वा भू–राजनीतिक तनावका बीच टाँसिने मुद्रास्फीतिको जोखिम पनि रहने चेतावनी दिएको छ । यद्यपि यसले मुद्रास्फीति सन् २०२५ को अन्त्यसम्ममा लक्ष्यमा फर्किने अपेक्षा गरेको छ ।आईएमएफले कर्जा विस्तारमा सावधानी अपनाउन नेपालाई सुझाव दिएको छ । कोषले नेपालको विस्तारित कर्जा कार्यक्रम सम्बन्धी नयाँ प्रतिवेदनमा मौद्रिक नीतिमा सचेततापूर्वक र तथ्यांकमा आधारित दृष्टिकोण आवश्यक हुने जसले मूल्य र बाह्य क्षेत्रको स्थिरतालाई जोगाउने जनाएको हो । नेपालमा कोरोना महामारीपछि अत्यधिक र अर्थतन्त्रमा सकारात्मक योगदान नगर्ने खालको कर्जा विस्तार भएको औंल्याउँदै कोषले नेपाल राष्ट्र बैंंकले पछिल्लो समयमा लिएको कर्जा दुरुपयोग रोक्ने नीतिहरूको निरन्तरताको पक्षमा वकालत गरेको छ ।
प्रतिक्रिया