सप्तकोशीमा तस्करी नियन्त्रणका लागि सुरक्षा निकाय कठोर भएर लाग्ने
सप्तकोशी नदीको आडमा हुने तस्करी नियन्त्रणका लागि सुरक्षा निकाय कठोर भएर लाग्ने भएको छ । नदीको आडमा गाँजा लगायतका लागुऔषध र प्रतिवन्धित औषधिको तस्करी बढेपछि सुरक्षा निकायले कारोबार रोक्न कठोर भएर लाग्ने निर्णय गरेको हो । लागुऔषध कारोबार र ओसारपसार चुनौतिपूर्ण बन्दै गएपछि सुनसरी प्रशासनको नेतृत्वमा कोशी प्रदेशका सरोकारवाला जिल्लाका प्रतिनिधिहरुको बैठकले कारोबार रोक्न कठोर बन्ने निर्णय गरेको हो ।
बैठकले गरेको निर्णय कार्यान्वयनका लागि चार जिल्लाका सुरक्षा प्रमुखलाई निर्देशन समेत दिइएको छ । नदीबाट गाँजा तथा अन्य कुनैपनि लागुऔषध ओसारपसार गरेको फेला परेमा सुरक्षा निकायले आवश्यकताअनुसार कारबाही अघि बढाउनेछ । बैठकले लागुऔषध तथा तस्करी नियन्त्रणका लागि सम्बन्धित नाकामा सुरक्षा तैनाथी बढाउने निर्णय समेत गरेको छ । बैठकले रातीको समयमा नदीको माध्यमबाट हुने आवतजावत ठप्प पार्ने र नदीमा बगाएर ल्याइने बाँस र डुंगाको आवतजावत तथा ट्युब प्रयोग गरी हुने सामान ढुवानी र मानवीय आवतजावतलाई पनि निषेध गरेको छ ।
प्रतिक्रिया