सरकारी खर्चमा सुधार भएन , आर्थिक बर्षको अन्तिम दिन १४ खर्ब बढि खर्च
गत आव २०८०/८१ को अन्तिम दिन सोमबारसम्म सरकारले कुल १४ खर्ब आठ अर्ब ९८ करोड रुपियाँ खर्च गरेको छ । जुन त्यसअघिको आव २०७९÷८० को तुलनामा करिब २१ अर्ब रुपियाँले कम हो । सो वर्ष सरकारले कुल १४ खर्ब २९ अर्ब ५६ करोड रुपियाँ खर्च गरेको थियो । गत आवमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँ खर्च गर्ने सुरुको लक्ष्य राखेको थियो । जसमध्ये गत आवको अन्तिम दिनसम्म ८०.४५ प्रतिशतमा खर्च भएको हो । कुल खर्चमध्ये सरकारले चालुतर्फ नौ खर्ब ५२ अर्ब ६२ करोड रुपियाँ चालु खर्च गरेको छ जुन सुरु लक्ष्यको तुलनामा ८३.४३ प्रतिशतले कम हो । गत आवमा सरकारले ११ खर्ब ४१ अर्ब ७८ करोड रुपियाँ चालु खर्च गर्ने लक्ष्य राखेको थियो । त्यस्तै गत आवमा सरकारले सुरु लक्ष्यको तुलनामा ६३.४७ प्रतिशत अर्थात् एक खर्ब ९१ अर्ब ७३ करोड रुपियाँ मात्र खर्च गरेको छ । ऋणको साँवा भुक्तानीका लागि उपयोग हुने वित्तीय व्यवस्था अन्तर्गत सरकारले दुई खर्ब ६४ अर्ब ६३ करोड रुपियाँ खर्च गरेको छ, जुन सुरु लक्ष्यको ८६.०७ प्रतिशत हुन आउँछ । गत आवमा सरकारको खर्च क्षमता नबढे पनि आम्दानी भने बढेको देखिन्छ । कार्यालयका अनुसार गत आवमा सरकारले ऋणबाहेक १० खर्ब ५६ अर्ब ६६ करोड रुपियाँ आम्दानी प्राप्त गरेको छ । यस्तो आम्दानी आव २०७९/८० को तुलनामा करिब २५ अर्ब रुपियाँले बढी हो । सो आवमा सरकारले १० खर्ब ३१ अर्ब ६९ करोड रुपियाँ आम्दानी गरेको थियो ।
प्रतिक्रिया