न्यायपालिकाको योजना कार्यान्वयनमा ध्यान दिन सरकारलाई प्रधानन्यायाधीशको आग्रह

कानूनमा देखिएको समस्या हल गर्ने कानूनमन्त्रीको प्रतिवद्धता

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनका लागि योजनाले प्रक्षेपण गरेको बजेट सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन् । मंगलवार ललितपुरमा न्यायपालिकाको पाँचांै पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गर्दै प्रधानन्यायाधीश श्रेष्ठले योजनाले प्रक्षेपण गरेका कानूनी सुधारका लागि पनि ध्यान दिन नेपाल सरकार र संघीय संसदका सांसदहरुलाई सचेत गराए । उनले सो रणनीतिक योजना कार्यान्वयनमा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन पनि दिए । 
प्रधानन्यायाधीश श्रेष्ठले न्यायको पहुँचमा रहेका अवरोधहरुलाई हटाई न्यायमा सबैको पहुँच सुनिश्चिता गर्न आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि जनाए । कार्यक्रममा नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान संशोधन गर्ने कामलाई अघि बढाउने बताए । उनले विगत ८÷१० वर्षको अवधिमा संविधानमा देखिएको कमजोरी हटाउनका लागि सरकारले संविधान संशोधनको कामलाई अघि बढाउन लागेको पनि दाबी गरे ।  
मन्त्री चौरसियाले न्याय क्षेत्रमा देखिएका अफ्ठ्यारा हटाउनका लागि कानूनमा देखिएको समस्या तत्काल हल गर्न लागिपर्ने प्रतिवद्धता पनि जनाए ।

प्रतिक्रिया