केन्द्रिय सत्ता गठबन्धन फेरिएसँगै सुदूरपश्चिममा बजेटको अवस्था शून्य

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै सुदूरपश्चिममा बजेट शून्यताको अवस्था आएको छ । असार मसान्तको राति १२ बजेसम्म बजेट पास हुनुपर्ने संवैधानिक प्रावधान छ । सोमबार राति १२ बजेसम्म बजेट पास नभएपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो । तत्कालीन गठबन्धनबाट आर्थिक मामिला मन्त्री बनेका एमालेका सुरेन्द्रबहादुर पालले असार १ गते ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गरेका थिए । तर सो बजेटमा असार मसान्तसम्म छलफल नै हुन सकेको छैन । सत्ता गठबन्धन फेरिएसँगै असार २० गते नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा छन । एमालेले समर्थन फिर्ता लिएपछि, उसले आफैंले ल्याएको बजेट पास नहुने भएको हो । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले तुरुन्त राजीनामा दिएर नयाँ सरकार बनाउने बाटो सहज पार्नुपर्ने पक्षमा नेपाली कांग्रेस र नेकपा एमाले रहेका छन ।  तर मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भने सकेसम्म अध्यादेशबाट बजेट ल्याउने, नसके पेस्की बजेट ल्याएर काम चलाउने र अल्पमतमा परेको अन्तिम दिनसम्म मुख्यमन्त्री रहिरहने दाउमा छन । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत दिने अडान लिए पनि उनले पाउने सम्भावना न्यून छ । उनी समाजवादीका ४, एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नाउपा रञ्जिता पक्षका २ गरी २८ जनाको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए। 
 

प्रतिक्रिया