सिमलतालमा बेपत्ता भएको बसमा सवार पन्ध्र जनाको शव फेला

बस र शव खोज्न अन्तर्राष्ट्रिय विज्ञसहितको टोली ल्याउने तयारी

सिमलताल पहिरोका कारण त्रिशूली नदीमा बेपत्ता भएकामध्ये थप एक यात्रुको शव नारायणी नदी किनारामा बालुवामा गाडिएको अवस्थामा फेला परेको छ । सोमबार पनि नवलपरासीस्थित गण्डक ब्यारेजमा तीन र मध्यविन्दु नगरपालिकाको भुताहामा एउटा शव फेला परेका थिए । आजसम्म बस त्रिशुलीमा खस्दा बेपत्ता भएकामध्ये १५ जनाको शव फेला परेको छ । तिमध्ये ७ शवको सनाखतसमेत भएको छ । ८ शवको पहिचान खुलेको छैन । पछिल्लो पटक बसका यात्रु रौतहट जमुनामाई–४ का १७ वर्षीय फिरोज राहुप मियाँको पहिचान खुलेको छ । हालसम्म १५ जनाको शव फेला परे पनि अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय नारायणी नदीको गोलाघाट, सुस्ता नहरमा शव भेटिन थालेपछि नारायणी नदी र ती स्थानहरूमा खोजी कार्यलाई तीव्रता दिइएको छ । आज पनि नदी किनारमा ¥याफ्टिङ बोट, मोटर बोट,  पैदल तथा  ड्रोनको सहायतामा खोजी जारी राखिने भएको छ । खोजी कार्यमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीका पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । दुई वटा बस र धेरैजसो यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउने तयारी गरेको छ । भारतबाट विज्ञसहितको उद्धार टोली ल्याउन हिजो नै परराष्ट्रमार्फत पत्राचार गरिएको हो ।   शुक्रबार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको सिमलतालमा पहिरोले दुई बस र त्यस सवार यात्रु ६२ जना यात्रु बेपत्ता भएका थिए । एन्जल ट्राभल्सको बसबाट काठमाडौँ आउँदै गरेका भरतपुर–२२ पदमपोखरीका २३ वर्षीय सुदीप वि.क. र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स त्रिशुलीमा खसेर बेपत्ता भएका हुन । दुई बसमा गरी ६५ जना यात्रु रहेकोमा तीन जनाले हाम फालेर ज्यान जोगाएका थिए ।
 

प्रतिक्रिया