आज साउने संक्रान्ति, केही ठाउँमा लुतो फाल्ने प्रचलन
सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने अर्थात कर्कट संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको बताइन्छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नांग्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । साउने संक्रान्तिका अबसरमा नेपालकै पवित्र तीर्थस्थल देवघाटधाममा साउने संक्रान्ति मेला शुरु भएको छ । मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेषरूपमा मनाउँछन् । साउने संक्रान्तिका अबसरमा आज कर्णाली प्रदेशमा विदा दिइएको छ ।।
प्रतिक्रिया