साउन लागेसँगै पशुपतिनाथमा श्रद्धालुको भिड
साउन लागेसँगै पशुपतिनाथको दर्शन गर्ने श्रद्धालुको आज बिहानदेखि भिड लागेको छ । पशुपतिनाथको मन्दिरमा साउनको पहिलो बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो । पूजाअर्चनाका लागि हजारौँ सर्वसाधारण मन्दिरमा लाइन लागेका छन् । साउन महिना भगवान शिवजीको महिना भएकाले देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । आजदेखि साउनभर पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यसपटक भक्तजनको बढी भीड हुने विकास कोषले जनाएको छ । साउन लागेसँगै पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको कोषले जनाएको छ । त्यस्तै पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आजदेखि बृहत् कोटीहोम महायज्ञ सुरु हुँदैछ । मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन सङ्घसंस्थाको आयोजनामा एक महिने कोटीहोम महायज्ञ हुन लागेको हो । महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन हुनेछ । यसैगरी महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथावाचिका देवी प्रतिभालगायतले कथावाचन गर्नेछन् । विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत रूपमा नियमित हवन,भन्दा बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, ज्येष्ठ नागरिकको सम्मान, ताण्डुलाचल चामलको पर्वत निर्माणलगायतको कार्यक्रम पनि नियमित रूपमा सञ्चालन हुने फाउण्डेशनले जनाएको छ ।।,
प्रतिक्रिया