काभा महिला भलिबलमा भाग लिन नेपाली टोली आज माल्दिभ्स जाँदै

पहिलो खेलमा साउन तीन गते श्रीलंकासँग प्रतिस्पर्धा गर्ने

काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज माल्दिभ्स जाँदैछ । नेपाली युवा टोलीलाई नेपाल भलिबल संघले सोमबार बिदाइ गरेको छ । नेपाली टोलीमा न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबका ६ जना टोलीमा परेका छन् । एभरेस्ट भलिबल क्लबबाट खेल्ने लुम्बिनी प्रदेशका ४, गण्डकीबाट खेलेका नेपाल पुलिस क्लब र सुदुरपश्चिमबाट खेलेका त्रिभुवन आर्मी क्लबबाट समान एक खेलाडी टोलीमा परेका छन् । च्याम्पियनसिप साउन ३ देखि ८ गतेसम्म माल्दिभ्सको मालेमा हुनेछ । च्याम्पियनसिपमा नेपाल, आयोजक माल्दिभ्स,किर्गिस्तान र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहेको छ । नेपालले साउन ३ गते श्रीलंकासँग खेल्दै काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको सुरुवात गर्नेछ । साउन ४ गते किर्गिस्तान र साउन ५ गतेमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली र लिगको दोस्रो र तेस्रो हुने टोलीले सेमिफाइनल खेल्नेछ । दुई खेलको विजेताले फाइनल खेल्नेछन् । 
 

प्रतिक्रिया