त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजी आजपनि जारी

काठमाडौ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको सिमलतालमा पहिरोले बेपत्ता भएका दुई वटा यात्रुवाहक बस र त्यसका यात्रुको खोजीकार्य आज पनि निरन्तर छ । पछिल्ला चार दिनमा त्रिशूली र नारायणी नदी किनारमा ११ जनाको शव फेला परे पनि ५ जनाको पहिचान भइसकेको छ भने ६ शवको पहिचान हुन बाँकी छ । पछिल्लो पटक सुस्ता नहरमा २, पश्चिम नवलपरासीमा १ र नारायणी नदीको चितवनतर्फ ३ शव फेला परेका छन । पाँच शव पहिरोले बगाएका बसकै यात्रु रहेको पुष्टि पनि भइसकेको छ । बसको चलानमा भएका र आफन्तले दिएका जानकारीका आधारमा दुवै बसमा गरी ६५ जना यात्रु रहेको खुलेको छ । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बसका यात्रु मध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार आइतबार साँझ भेटिएका ती शवको अहिले पहिचान खुलेको हो । सनाखत हुनेमा भरतपुर –२२ पटिहानीका २३ वर्षीय सुदीप विक र रौतहटका १७ वर्षीय फिरोज राहुपत छन् । आइतबार पहिचान खुलेकामा भारतको विहार बेतिया जिल्ला पश्चिम सम्पारण–२२ का ४० वर्षीय सजाद अन्सारी, भारतकै जयप्रकाश ठाकुर, माडी नगरपालिका–१ का २२ वर्षीय विकाश परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको विहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह थिए ।  यही असार २८ गते बिहान ३ः३० बजेको समयमा  नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए । घटनास्थल र यसका आसपासमा बस र यात्रुको खोजी जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी जारी राखेका छन्  ।

प्रतिक्रिया