वाणगंगा नदको बाढीले  हर्दौना गाउंका ७ सय घर उच्च जोखिममा

लगातारको वर्षा पछि कपिलवस्तुको वाणगंगा नदीमा आएको बाढीले नदी कटान गर्न थाले पछि महाराजगंज नगरपालिका वडा नं. १० हर्दौना गाउंका करीब ७ सय घर उच्च जोखिममा परेका छन् । नदी कटानका कारण तटीय क्षेत्रका २ घर विस्थापित भई सकेको छ । राती नदी गाउं पस्छ की भन्ने डरले हरदौना गाउंका अन्य घर परिवारहरु रातभर जाग्राम बस्ने गरेका छन् । 
वर्षेनी आफुहरुले भोग्दै आएको नदी कटानको समस्या बारे सम्वन्धित निकायले चासो नदिंदा नदी तटीय क्षेत्र हरदौना गाउंका स्थानीय सर्वसाधारण निकै आक्रोशित समेत बनेका छन् । हाल सम्म ठुलो क्षति हुन नपाएको र सम्भावित क्षति प्रति स्थानीय प्रशासन सतर्क र सचेत अवस्थामा रहदै आएको प्रशासनले जनाएको छ । 
नदी कटानका कारण नदी तटीय क्षेत्रका कृषकहरुको करीब १ हजार विगाहा बढी खेत बगरमा परिणत भई सकेको छ । वाणगंगा नदीको दक्षिणी तटीय सीमा क्षेत्र पारी भारतले सिचाई प्रयोजनका लागि ठुलो क्षमताको बांध निर्माण गरेको छ । भारतीय सरकारले वाणगंगा नदी नियन्त्रणका लागि योजना बनाएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । भारतीय सरकारले वाणगंगा नदी नियन्त्रणका लागि सन् २०२२ मा ६ अरब रुपैया लगानी गर्न डिपीआर बनेपनि दुई देशको बैठक बस्न नसक्दा सो रकम फुकुवा हुन नसकेको हो । 
 

प्रतिक्रिया