युरोकप फुटबलको फाइनलमा आज स्पेन र इङ्ल्याण्डबीच प्रतिस्पर्धा

युइएफए युरोपियन फुटबल च्याम्पियनसिप युरो कप २०२४ को उपाधिका लागि स्पेन र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुने भएको छ । १७औं संस्करणको फाइनल आज राति पौने १ बजे बर्लिनमा हुनेछ । स्पेन र इङ्ल्याण्डबीच अहिलेसम्म २७ खेल हुँदा स्पेनले १० र इङ्ल्याण्डले १४ खेल जितेका छन् भने ३ खेल बराबरी भएका छन्। पछिल्लो पटक यी दुईबीच २०१८ मा नेशन्स लिगमा भएको भेटमा इङ्ल्याण्ड विजयी भएको थियो । बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इङ्ल्याण्डले स्पेनसँगको भेट पक्का गरेको हो । यसअघि पहिलो सेमिफाइनलमा फ्रान्सलाई हराउँदै स्पेनले फाइनलमा स्थान बनाएको थियो ।  उपाधिका लागि ३ पटकको विजेता स्पेन र साबिक उपविजेता इङ्ल्याण्डबीच खेल हुनेछ । दुवै टोलीले सेमिफाइनलमा उत्कृष्ट पुनरागमन गर्दै समान २–१ गोलले खेल जितेर फाइनलमा पुगेका टोली हुन् । युरोकपको दोस्रो संस्करण सन् १९६४ मा पहिलो उपाधि जितेको स्पेनले २००८ र २०१२ मा लगातार २ उपाधि जितेको जितेको थियो । सन् १९६६ मा घरेलु मैदानमा भएको फिफा विश्वकप जितेयता इङ्लिस टोलीले कुनै पनि ठूला उपाधि जित्न सकेको छैन् । त्यो उपाधिपछि उसको सफलता भनेकै गत संस्करण युरोकपको उपविजेता बन्नु हो ।। 

प्रतिक्रिया