असार महिनामा चैते धान भित्राउन मै व्यस्त डोटीका किसान

काठमाडौ । असार महिनामा जिल्लाका अन्य क्षेत्रमा किसानहरु धान रोपाईमा व्यस्त भएको समयमा डोटीको शिखर नगरपालिका–२ कालागाडका किसानहरु भने चैते धान भित्राउनमा व्यस्त रहेका छन् । परिक्षणका रुपमा डोटीमा यस बर्ष पाँच हेक्टर क्षेत्रफलमा चैते धान रोपिएको छ । चैते धानको उत्पादन राम्रै भए पछि किसानहरु उत्साहित भएका छन् । पहिलो पटक परिक्षणका रुपमा रोपिएको चैते धान राम्रै फले पछि किसानहरु खुशी भएका हुन । 
डोटीको शिखर २ र दिपायल सिलगढी ७ का कृषकहरुले बैशाख पहिलो हप्ता रोपेको चैते धान असारमा भित्राएका हुन । असारमा रोपीने धानको तुलनामा दोब्बर जस्तै उत्पादन भएको बताइएको छ । सेती नदिको किनारका फाँटहरु मलिलो जमिन भएका कारण चैते धान प्रवद्र्धनको लागि उपयुक्त रहेको कृषि ज्ञान केन्द्रको भनाइ छ । 
सिंचाईको सुबिधा भएका स्थानहरुमा चैते धान लगाएका कारण राम्रै उत्पादन दिए पछि आगामी बर्षमा समेत चैते धान खेतीलाई निरन्तरता दिने पक्षमा कृषकहरु रहेका छन् । डोटीमा चैते धान पाँच र हर्दिनाथ धान गरि दुई किसिमको धान किसानले रोपेका हुन । डोटीमा कृषि उत्पादनका क्षेत्रमा नयाँ प्रविधी र ज्ञानको प्रयोग हुने थालेको छ । कृषि उत्पादनमा नयाँ प्रविधि ज्ञानको प्रयोगले कृषकलाई काममा सहज हुनुका साथै कृषि उत्पादन समेत बढ्न थालेको छ ।

प्रतिक्रिया