काठमाडौ शहरलाई थप सुन्दर बनाउन पुरानो कला र संस्कृतिको जगेर्नामा जोड

काठमाडौ । काठमाडौ महानगरपालिकाले शहरलाई थप सुन्दर बनाउन पुरानो कला र संस्कृतिको जगेर्ना गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ । हराउँदै गइरहेको पुरानो कलात्मक शैलीलाई पुनः स्थापित गर्न काठमाडौंका स्थानीय तहहरु लागि परेका हुन् । यसै क्रममा अरनिको राजमार्गअन्तर्गत पर्ने बानेश्वर क्षेत्रमा महानगरले फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिका–३१ शान्ति नगरमा परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर बनाइएको नमूना बस बिसौनी तथा यात्रु प्रतीक्षालय सञ्चालनमा आएको हो । कलात्मक शैलीमा निर्माण गरेको फल्चाको प्रभाव राम्रो परेपछि महानगरले आगामी वर्ष थप नयाँ फल्चा बनाउने योजना बनाएको छ । 
सवारी साधनको प्रतीक्षा गर्नका लागि गाह्रो हुने गरेकोमा फल्चा बनेपछि सहज भएको र शहरको सौन्दर्य पनि बढेको यात्रुहरुले बताएका छन् । 
स्थानीयले राजनीतिक आन्दोलनको केन्द्र नयाँ बानेश्वरमा जस्तोसुकै आन्दोलन भएपनि यस्ता संरचना बिगार्नु नहुने र सबैले संरक्षण गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया