आदिकवि भानुभक्तको २ सय ११औँ जन्मजयन्ती आज, देशभर विविध साहित्यिक कार्यक्रम गरी मनाइँदै

काठमाडौ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज मनाइँदैछ । जन्मजयन्तीका अवसरमा देश तथा विदेशका विभिन्न स्थानमा विविध साहित्यिक कार्यक्रमको आयोजना गरिएको छ । जन्मजयन्तीको अवसरमा काठमाडौँको दरबार हाईस्कुलमा रहेको आचार्यको शालिकमा माल्यार्पण गरिएको छ । नेपाल शिक्षा परिषद्को आयोजनामा आज बिहान आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति गङ्गाप्रसाद उप्रेतीले आचार्यको सालिकमा माल्यार्पण गरेका हुन् । सो क्रममा उप्रेतीले नेपाली भाषाको विकास गरी नेपालीलाई एकताबद्ध गर्न आदिकविको ठूलो योगदान रहेको बताए । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ । तत्कालिन राजा पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए ।  विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित गरेको विश्वास गरिन्छ । ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी, उनले ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति लेखेका छन् । भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइने गरिएको छ ।
 

प्रतिक्रिया