एमाले अध्यक्ष ओलीद्वारा प्रधानमन्त्रीका लागि दाबी पेश, सपथ र मन्त्रिपरिषद विस्तार भोलि

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भोलि प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ । हिजो राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले नयाँ सरकार गठनका लागि दाबी पेस गरेका थिए । नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा ओलीले दाबी पेस गरेका हुन् । जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर बुझाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र  पौडेलले संविधानको धारा ७६ (२)अनुसार नयाँ सरकार गठनका लागि भोलि साँझ ५ बजे सम्मको समयसीमा दिएर आह्वान गरेका छन् । लगत्तै एमाले र कांग्रेसले प्रधानमन्त्रीमा ओलीको दाबी पेस गरेका हुन् । हिजो दाबी पेस भए पनि भोलि मात्रै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर शपथ गराइने शितल निवासको तयारी छ । कांग्रेस र एमालेका नेताहरुले भोलि नै सानो आकारको मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । ३ वर्षअघि असार २८ गते सर्वाेच्च अदालतको परमादेशबाट ओली सत्ताच्युत भएका थिए । ओलीले दोस्रोपटक दुई तिहाई बहुमतप्राप्त सरकारको नेतृत्व गर्ने मौका पाउँदैछन् । 
 

प्रतिक्रिया