ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्न देउवाले बुझाए हस्ताक्षर

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न हस्ताक्षर बुझाएका छन् । शुक्रबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको ओलीको कार्यकक्षमा बसेको बैठकमा कांग्रेस–एमालेको बैठकले प्रधानमन्त्रीको दाबीका लागि पत्र तयार पारेको हो ।

कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थन लिएर ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले भने, ‘प्रधानमन्त्री दाबीका लागि बहुमत कांग्रेस र एमालेको समर्थन भए पुग्छ । दुई दलको समर्थन पत्र लिएर केपी ओलीजीले दाबी पेस गर्नुहुन्छ ।’ 


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोसपा, नाउपालगायत दलले मत जाहेर गरेका थिए । तर, ओलीलाई प्रधानमन्त्रीमा नियुक्तका लागि कांग्रेस र एमालेको मात्र समर्थन रहने छ । जसपा, जसपा नेपाल, जनमत, लोसपा र नाउपालाई एक–एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउने कांग्रेस-एमाले सकारात्मक छन् । 

प्रतिक्रिया