प्रचण्डले पाएनन् विश्वासको मत, १८ महिनापछि ढल्यो सरकार

प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका छन् । शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत नपाएसँगै दाहाल १८ महिनापछि पदमुक्त भएका हुन् । दाहालले विश्वासको मतका लागि राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । सभामुख देवराज घिमिरेले तत्काल प्रतिनिधि सभामा रहेको २५८ मतमध्ये दाहालले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले दाहालको प्रश्ताव अस्वीकृत भएको जानकारी दिए । 
दाहाललाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिएका हुन् । दाहालको विपक्षमा दुई ठूला दल कांग्रेस र एमालेसहित राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतले मत हालेका हुन् । दाहाल गत प्रतिनिधि सभाको निर्वाचनपछि २०७९ साल पुस १० गते एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनले पटक–पटक गरी ४ पटक प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए । पाँचौ पटकमा भने उनी असफल भएका हुन् । दाहालले विश्वासको मत नपाएसँगै अब नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि संविधानविद्हरुसँग परामर्श थालेका छन् । यसअघि नै कांग्रेस र एमालेबीच केपी ओलीलाई नयाँ प्रधानमन्त्री बनाउने सहमति भइसकेको छ । प्रतिनिधि सभाको अर्को बैठक आगामी असार ३० गते आईतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया