अनुसन्धानको सुई ढोका ढकढक्याउन पुगेपछि संविधानको याद आयो ? गृहमन्त्री लामिछाने

गृहमन्त्री रवि लामिछानेले कुनै एउटा व्यापारीको घरमा बसेर गरिएको सहमति कसरी राष्ट्रिय सहमति हुन्छ भन्दै प्रश्न गरेका छन् । शुक्रबार  प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा लामिछानेले आफ्नै दलका नेता, सांसद र जनतालाई थाहा नदिई मध्यरातमा भएको कस्तो सहमति हो भन्दै प्रश्न गरे ।उनले आफ्नो दल सरकारमा गएर के गर्‍यो भन्नेलाई केही काम गर्न खोज्दैमा दुई ठुला दल रातारात मिल्ने अवस्था आएको उल्लेख गरे । जब अनुसन्धानको सुई कसैको ढोका ढकढक्याउन पुग्यो तब कांग्रेस र एमालेलाई रातारात कसरी संविधानको याद आयो भन्दै उनले प्रश्न गरे । 
दुई ठुला दल मिलेर देशमा शान्ति र सुशासन हुने भए ठिकै हुने बताउँदै पहिले नै मिलेको भए आफ्नो दलको जन्मनै नहुने बताए । उनले रास्वपालाई सरकारमा भन्दा प्रतिपक्षमै बस्न रमाइलो हुने उल्लेख गरे । लामिछानेले जनताले प्रतिपक्षमा बस्न मत दिएपनि जनतामा आशा दिनका लागि सरकारमा गएको बताए । प्रधानमन्त्री प्रचण्डसँग देशलाई सुशासन दिन छलफल गरेर चेकलिष्टसहित काम गर्न आएको र ४ महिनामा गरेको काममा आफै सन्तुष्ट नरहेको उल्लेख गरे । 

रमेश लेखक सम्भावित गृहमन्त्री बन्ने सुनेको बताउँदै उनले बाँसबारीको जग्गा ल्याउने स्टन्ट गरेको आरोप लगाएपनि त्यस्तै स्टन्ट गर्न आग्रह गरे । बालमन्दिरको जग्गा फिर्ता ल्याएजस्तै अरू जग्गाहरू फिर्ता ल्याएर स्टन्ट गर्न आग्रह गरे ।

प्रतिक्रिया