प्रचण्डको दाबीः कांग्रेस, एमाले आफै मिलेका होइनन्, कसैले मिलाएको हो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमाले आफै मिलेको नभई अरुले नै मिलाइदिएको दाबी गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले कांग्रेस–एमाले आफै मिलेको भन्ने कुरा सत्य नभएको जिकिर गरे। उनले सहमतिको सरकारका नाममा उनीहरुले झुट बोलेको बताए।
‘कांग्रेस एमालेका सीमित नेताको दाबी होला, हामी आफै मिलेका हौँ। त्यो सत्य होइन। तपाईंहरुलाई कसैले मिलाएको हो। किन मिलाएको हो? घामजत्तिकै छर्लङ्ग छ,’ उनले भने,’सिधैँ कांग्रेस–एमाले मिलेको भन्न लाज लागेर खासगरी एमालेका साथीहरुले झुटमुटमा राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहनुभएको छ। जनतालाई गुमराहमा राख्ने कोशिस भएको छ।’
साथै उनले संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्वतिर लैजाने कोशिस नगर्न कांग्रेस–एमालेलाई चेतावनीसमेत दिए। उनले भने, ‘सहमति नाघेर, छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्वतिर लैजाने दुस्साहस नगर्नुहोला।’
उनले दुई दलबीच अध्याँरो कोठामा मध्यरातमा सहमति भएको बताए। उनले भने,’नियत सफा भए दुई ठूला दल मिल्न अध्याँरो र बन्द कोठा चाहिन्छ? झुटमुट र कुतर्क। मैले त्यो सबै भनेँ भने यहाँ तपाईंहरुलाई पनि लाज लाग्छ भन्ने मलाई डर छ। हाम्रा नेताहरु कतिसम्म झुट बोल्न सक्नुहुन्छ, कुतर्कको सहारा र मध्यरात चाहिन्छ र दुईटा दल मिल्नलाई?’
प्रतिक्रिया