प्रधानमन्त्री दाहालले आज पाँचौंपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा बैठकमा आज विश्वासको मत लिँदै छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् । नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा दुई अनुसार विश्वासको मत लिन लागेका हुन् । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद्मा तेस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल २०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उनले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा दुई सय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको मत प्राप्त गरेका थिए । त्यसको झण्डै साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०७९ साल चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए । प्रधानमन्त्री दाहालले २०८० फागुन ३० गते फेरि कांग्रेससँगको गठबन्धन तोडेर तेस्रोपटक विश्वासको मत लिएका थिए । त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०८१ जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको अवरोधका बीच चौथोपटक विश्वासको मत लिएका थिए । यसबेला उनलाई एक सय ५७ सांसदले मत दिएका थिए । पाँचौं पटक विश्वासको मत लिन लागेका प्रधानमन्त्री दाहाल यसपटक भने बहुमत गुमाएर सरकारबाट वहिर्गमन हुँदैछन् ।
 

प्रतिक्रिया