पोखराको तल्लाकोटमा पहिरो जाँदा एकै परिवारका सातसहित ११ जनाको मृत्यु

अविरल वर्षापछि पहिरो जाँदा पोखरामा एकै परिवारका सातसहित एघार जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिँदा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको हो । पहिरोमा पुरिएर कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको निधन भएको हो । पहिरो गएराति १०ः३० बजेको समयमा परिवारका सबै सदस्य जम्मा भएको बसेको समय खसेको बताइन्छ । घटनामा दुई जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र नौ वर्षीय प्रतीक सुवेदी र ११ वर्षीया अनुस्का ओझाको मृत्यु भएको छ । त्यस्तै मादी गाउँपालिका–११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि पहिरोमा परी बेपत्ता भएको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परेका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया