विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध
तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण आज बिहान विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा, व्यास नगरपालिका–१२ घाँसीकुवा, म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । याम्यामा बिहान ४ बजे गएको पहिरो हटाइए पनि रुख ढलेर पुन राजमार्ग अवरुद्ध भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाको निर्माण कम्पनीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
यस्तै बन्दीपुर गाउँपालिका–५ नयाँपुल नजिकसमेत पहिरोले सडक अवरुद्ध भएको छ । पहिरोका कारण व्यास–१२ कमलबारी नजिकसमेत बाटो अवरुद्ध भएको पछ । यस्तै व्यास–१२ घाँसीकुवामा पहिरो खस्दा यो खण्डसमेत अवरुद्ध भएको छ। पहिरोका कारण सडक छेउ रहेका मेसिन समेत केही पुरिएको छ। डोजरलगायतका मेसिन पुरिएर बाहिर निकाल्न नपाउँदा अन्यत्र पहिरो पन्छाउन जान सकिएको छैन । यस्तै म्याग्दे –६ मौरीओडारमा समेत पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको छ । त्यस्तै वर्षाका कारण बुल्दीखोला बस्तीमा पस्दा तनहुँको व्यास–४ तल्लो सिमलटारका ४० घर डुबानमा परेका छन्। बुल्दीखोलामा आएको बाढीले खोला बस्तीमा पस्दा तल्लो सिमलटारका करिब ४० घर डुबानमा परेका हुन् । बुल्दीखोलाको बाढीले यहाँका घरका तल्लो कोठा र सटरमा रहेका सामग्री बगाएको छ ।।
प्रतिक्रिया