मनुसुनी प्रणाली सक्रिय हुँदा देशभर हल्का देखि भारी वर्षाको सम्भावना

अहिले देशभर मनुसुनी प्रणाली सक्रिय छ । जसका कारण देशभर साधारणतया देखि पूर्णतया बदली रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनीका अधिकांश स्थानहरूमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो क्रम आगामी शनिबारसम्म रहने विभागको भनाइ छ । बाढी पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । शहरी तथा तराई क्षेत्रमा डुवानको जोखिम रहेको छ भने ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन पनि आग्रह गरिएको छ ।। यो वर्षको मनसुनको एक महिनामा पूर्वतयारी र पूर्वसूचना प्रणाली बलियो रहँदा जनधनको क्षति कम रह्यो तर अधिक वर्षाका हिसाबले उच्च जोखिम थप बढेको विज्ञहरूले बताएका छन् । मनसुनको एक महिनाको अवधिमा मनसुनजन्य विपत् बाढीपहिरो र चट्याङ, सर्पदंश, आगलागीलगायतबाट ८९ जनाको ज्यान गएको छ । अन्य सात जना बेपत्ता रहेका छन् । यस अवधिमा १६९ जना घाइते भएका छन् । करिब तीन हजार पाँच सय जना विस्थापित भएका छन् । झन्डै २८ करोड रुपियाँ बराबरको आर्थिक क्षति भइसकेको छ ।। 

प्रतिक्रिया