बक्यौता भुक्तानी नपाए निर्णायक संघर्ष गर्ने निर्माण व्यवसायीको चेतावनी
नेपाल निर्माण व्यवसायी महासंघले असार मसान्तसम्म पनि आफूहरुले बक्यौता भुक्तानी नपाए निर्णायक संघर्ष गर्ने चेतावनी दिएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै महासंघले भुक्तानी हुन बाँकी रहेको व्यवसायीहरूको अर्बौं रकम रकमान्तर गरी असार मसान्तभित्र उपलव्ध गराउन माग गर्दै समस्या समाधान नभए निर्णायक संघर्ष गर्ने चेतावनी दिएको हो । भुक्तानीको विकराल समस्या भोग्न बाध्य भएपछि निर्माण व्यवसायीहरूले केही स्थानीय निकाय, प्रदेश र संघका विकासे कार्यालयहरूमा तालबन्दी शुरु गरेको पनि महासंघले जनाएको छ । महासंघले व्यवसायीहरूको रकम भुक्तान नभएसम्म नयाँ टेण्डरहरू ननिकाल्न र बजेट सुनिश्चितता नभएका, भुक्तानी लगाएका समस्याले पूरा हुन नसकेका ठेक्काहरू कानून बमोजिम सुबिस्ताका आधारमा अन्त्य गरि फरफारक गर्न पनि आग्रह गरेको छ ।
सरकारले गर्नुपर्ने ६० अर्ब भुक्तानी नगर्दा ‘सप्लाई चेन’ नै अस्तव्यस्त भएको महासंघले जनाएको छ । महासंघले गत आर्थिक वर्ष २०७९÷८० र चालु आर्थिक वर्ष २०८०÷०८१ का आयोजना निर्माण कार्य सम्पन्न गरेबापतको ६० अर्ब रुपैयाँ सरकारले भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।
महासंघले रकम भुक्तानी नहुँदा ‘सप्लाई चेन’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरू नै बन्द हुने स्थिति रहेको जनाएको छ । महासंघले अब बन्ने सरकारबाट निर्माण उद्योगको समस्या समाधानका लागि ठोस पहल गर्न माग समेत गरेको छ ।
प्रतिक्रिया