विदेशमा कमाएको रकम गाउँमै लगानी गरी मनग्य आम्दानी

पछिल्लो समय विदेशमा पैसा कमाएर गाउँ छोडी शहरतिर बस्ने प्रचलन बढ्दै गएको छ । तर गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्री भने विदेशमा कमाएको रकमलाई गाउँमै लगानी गरी मनग्य आम्दानी समेत गरेका छन् । ३९ बर्षिय गोपालले किम्बु, राइखन्यु, बडर, मरिङ्गा, रसियन कम्फे, नेपियर, रेड नेपियर, फोरजि बुलेज, जेइन्ड किङ लगायत गरी ५० भन्दा बढी जातका घाँसका बिरुवाहरु उत्पादन गरिरहेका छन । 
क्षेत्रीले २१ रोपनी आफ्नो र ८९ रोपनी घिमेकीको जग्गा भाडामा लिएर घाँस उत्पादन गरिरहेका हुन ।  घाँसका साथसाथै होलिस्टिन जातका तीन गाई र तीन भैसीँ पाल्नुका साथै १ सय ३० वटा बाख्रा अट्ने खोर पनि निर्माण गरेका छन । १३ बर्ष दुवईको कम्पनीमा काम गर्दा गोपालले बिदाको समयमा घाँस र बाख्रा फर्म हेर्न जान्थे । त्यही देखेर उनले गाउँमा पनि खेती गर्ने सोच बनाए र चार बर्षअगाडीवाट गाउँमै व्यवसायीक घाँस खेती गरिरहेका हुन । उत्पादन गरेका बिरुवा गुल्मीका साथसाथै अर्घाखाँची, बुटबल, स्याङ्जा, पोखरा, रुकुम पश्चिम, रोल्पा, दाङ, हेटौडा, मोरङ लगायतका स्थानमा अनलाइन माध्यमबाट बिक्री भैरहेको छ । गत बर्ष मात्रै १० लाख ५० हजारको बिरुवा बिक्री गरेका गोपालसँग अहिलेको सिजनमा बिक्रीको लागि ४० लाखको बिरुवा रहेको छ । विदेशमा मासिक ८२ हजारको काम छोडेर गाउँमा सात लाखबाट सुरु गरेको व्यवसाय अहिले ४० लाखको भएको छ ।। 

प्रतिक्रिया