राजमार्गको अवस्था बुझेर मात्रै लामो यात्रामा निस्किन प्रहरीको अनुरोध
नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । प्रहरीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरेको हो । अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले सडक अवरुद्ध भएको, ठाउँठाउँमा भत्किएको तथा भासिएकाले दर्जनौँ सडक अझै नखुलेको प्रहरीले जनाएको छ । वर्षा जारी रहँदा थप अवरोधको सम्भावना कायमै रहेकाले सावधानी अपनाउन प्रहरीले नागरिकहरूलाई आग्रह गरेको हो । अवरोध नभएका राजमार्गमा पनि यातायात चापका कारण जाम भइरहेकाले सकेसम्म यस्तो अवस्थामा यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन पनि प्रहरीले आग्रह गरेको छ ।
प्रतिक्रिया