एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने निगमको तयारी
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी गरेको छ । घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै मूल्य कायम गर्ने तयारी गरिएको हो । राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहकलाई दोहोरो मूल्य कायम गरी सहुलियत दिने निगमको तयारी छ । पाँचतारे होटेलदेखि सडक पेटीमा चिया बिक्री गर्ने र सर्वसाधारण उपभोक्तालाई एउटै मूल्य हुँदा उपभोक्ता मारमा परेका छन् । हाल घरायसी र व्यावसायिक प्रयोजनका लागि एउटै मूल्य कायम गरिएको छ । बजारमा खाना पकाउने एलपी ग्यासको मूल्य एक हजार ९१० रुपैयाँ रहेको छ । यसैबीच खाना पकाउने एलपी ग्यासको आयातमा दुई अर्ब रुपैयाँले कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा ५१ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ बराबरको चार लाख ८१ हजार ६२५ मेट्रिक टन ग्यास आयात भएको छ । गत आर्थिक वर्षको सो अवधिमा ५४ अर्ब ३२ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको ग्यास आयात भएको थियो । पछिल्लो समय विद्युतीय चुलोको प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी निगमले जनाएको छ ।
प्रतिक्रिया