बाढी पहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ८० जनाले ज्यान गुमाए

काठमाडौ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ८० जनाले ज्यान गुमाएका छन । प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गते यता विपतमा परी बागमती प्रदेशमा ५ जना, कोशी प्रदेशमा १९, मधेश प्रदेशमा ३, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा २०, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी ८० जनाको मृत्यु भएको हो । सोही अवधिमा ९७ जना घाइते र पाँच जना वेपत्ता भएका छन् । बाढीपहिरोमा परी कोशी प्रदेशमा २, बागमती प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा गरी ५ जना बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । हालसम्म १ सय ३८ वटा घर, ५४ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरीले जनाएको छ । यस अवधिमा ३ सय ८४ वटा पशुचौपायाको मृत्यु भएको छ । विपद्का घटनाबाट २ हजार ७ सय ६४ घर परिवार विस्थापित भएका छन् । यस अवधिमा विपदका घटनाबाट १० करोड १८ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति भएको र विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया