काभ्रेको पकुचामा पहिरो खसेपछि अरनिको राजमार्ग अवरुद्ध

काठमाडौ । अविरल वर्षाका कारण काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर–८ स्थित पकुचामा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ । आज बिहान धुलिखेल–खावा सडक खण्डमा आएको पहिरोले अरनिको राजमार्गमा दुईतर्फी नै यातायात सञ्चालन ठप्प भएको हो । वर्षाका कारण सडक हिलो हुँदा केही सवारी साधन सडकमा फसेका छन् । हिलोमा फसेका सवारी साधन निकाल्न र पहिरो पन्छ्याउन केही समय लाग्ने प्रहरीको भनाइ छ । पकुचादेखि जिपलाइनसम्मको क्षेत्रमा समेत गाडी गुड्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । पहिरो र हिलोका कारण यो क्षेत्र सबैभन्दा बढी जोखिम युक्त बनेको हो । निर्माण कम्पनीले सयममै काम नगरिदिँदा विगत ३ वर्षदेखि धुलिखेल–खावा सडक खण्डमा यात्रा जोखिमपूर्ण बनिरहेको छ । पकुचादेखि धुलिखेल तर्फ पनि ठाउँ–ठाउँमा पहिरो गएको छ । धेरै जसो ठाउँमा एक तर्फी मात्रै सडक खुलेको छ । पानी पर्न थालेसँगै निर्माण कम्पनीले सडकको काम रोकेको छ । दुई पांग्रे र चार पांग्रे साना सवारी साधनलाई सबैभन्दा बढी मार पर्ने गरेको छ ।

प्रतिक्रिया