नक्कली लाइसेन्स वितरणमा यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाएर विवतरण गरेको आरोपमा १५ जनाविरूद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर भएका यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बुटवल कार्यालय प्रमुख उपसचिव केशव अर्याल, तत्कालीन कम्प्युटर अपरेटरहरु लक्ष्मण पाण्डे, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे र पदमराज आचार्य, सहायक पाँचौं सुवास पौडेल लगायत यातायात व्यवस्था कार्यालय कावासोती नवलपरासीका तत्कालीन कम्प्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीका कम्प्युटर अपरेटर विनोद भण्डारी, यातायात व्यवस्था कार्यालय चितवनका सहायक चौथो राजेश लम्साल, यातायात व्यवस्था कार्यालय झापाका कम्प्युटर अपरेटर विवेक भण्डारी र यातायात व्यवस्था कार्यालय धनुषाका कम्प्युटर अपरेटर दिलीपकुमार शाह प्रहरी हिरासतमा छन् । उनीहरूको काठमाडौं जिल्ला अदालतले सोमबारदेखि नै बयान सुरु गरिसकेको छ ।  
यस्तै, मुद्दामा प्रतिवादी बनाइएका लक्ष्मण पाण्डे, रामकृष्ण श्रेष्ठ, विनोद भण्डारी, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे, विवेक भण्डारी, विजय चौधरी, प्रविन भन्ने फानेश्वर सापकोटा र सन्दीप श्रेष्ठ भने फरार सूचीमा छन् । 


ढड्डामार्फत वितरण हुँदै आएको सवारी चालक अनुमतिपत्रको रेकर्ड इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा सार्ने क्रममा अर्कै विवरण राखेर उनीहरुले नक्कली लाइसेन्स वितरण गरेको दाबी गरिएको छ । त्यसबापत सरकारी कर्मचारीसमेतको मिलेमतोमा मोटो रकम लिइएको अनुसन्धानबाट खुलेको छ ।

 यातायात व्यवस्था विभागले अहिले केन्द्रीय सवारी चालक अनुमतिपत्र प्रणाली ९ईडीएल०को सञ्चालन र व्यवस्थापन गर्दै आएको छ ।यो प्रणालीमा परीक्षार्थीको व्यक्तिगत अभिलेख, परीक्षासम्बन्धी अभिलेख र सवारी चालक अनुमतिपत्र छपाइसम्बन्धी विवरण भण्डारण राखिने बताइएको छ । डीएल प्रणालीमा भएको विवरण ईडीएलमा स्थानान्तरण गर्ने क्रममा कर्मचारीकै मिलेमतोमा फर्जी अनुमतिपत्र वितरण गर्ने गरेको खुलेको थियो । त्यही आधारमा विभागले आन्तरिक छानबिन गरी सीआईबीलाई पत्राचार गरेको थियो । कर्मचारीहरूको यूजर आइडीबाट फर्जी विवरण प्रणालीमा इन्ट्री गरी नक्कली अभिलेख खडा गरेर लाइसेन्स जारी भएको विभागले जनाएको छ ।

प्रतिक्रिया