कालोपत्र निर्माण गर्न आएको बजेटमा बिर्तामोड नगरले लगायो पेवर्स
झापाको बिर्तामोड नगरले केन्द्रबाट आउने कालोपत्रे सडक निर्माणको योजना शंकास्पद रुपले परिवर्तन गर्दै पेवर्स लगाउने गरेको पाइएको छ । कालोपत्र निर्माण गर्न आएको बजेटलाई योजना परिवर्तन गर्दै बिर्तामोड नगरले पेवर्स लगाउने निर्णय गरेको पाइएको हो । पेवर्सले तिब्र गतिमा सवारी सञ्चालन हुदा नथाम्ने र निश्चित भारवहन क्षमता भएका सवारी साधनालाई मात्र थेग्न सक्छ । तर कमिशनको प्रलोभनमा योजना नै परिवर्तन गरेको स्थानीयको आरोप छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय झापाका प्रमुख सुदिप पौडेलले पेवर्स लगाउँदा ५ बर्षसम्म टिक्ने भएका कारण नगरपालिकाले गरेको योजना परिवर्तनको निर्णयलाई कार्यान्वयन गरेको बताए । योजना परिवर्तन गराउन भूमिका खेल्दै आएको आरोप भने उनले अस्वीकार गरे ।
बिर्तामोडको कनकाई रोड निर्माणका लागि उपभोक्तासँग ४० फुट चौडाई कायम गरेर कालोपत्रे सडक निर्माण गर्ने सहमति नगरपालिकाले गरेको थियो । तर, एक्कासी ३० फुटको सडक कायम गर्ने र सो सडकमा पेवर्स लगाउने निर्णय भएपछि स्थानीय विरोधमा छन । २ करोड ३६ लाख २१ हजार ७४२ रुपैंयाँ ४१ पैसामा इलाम स्टेशनबाट सुब्बाचोकसम्म ५९१ मिटर सडक कालोपत्रे र दाँया बाँया ढल निर्माण गर्न बजेट बिनियोजन भएको थियो ।।
प्रतिक्रिया